०७४ सालमा देशभक्त वामपन्थीको सरकार, समाजवादको नयाँ मोडल नेपालबाट शुरु

०७४ सालमा देशभक्त वामपन्थीको सरकार, समाजवादको नयाँ मोडल नेपालबाट शुरु

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक आवश्यकता अनुरुप एमाले र माओवादी केन्द्र र नयाँ शक्तिबीच एकीकरणको पहल सुरु भएको बताएका छन्।
चुनावी तालमेल र पार्टी एकिकरणका विषयमा जानकारी दिन तीन दलले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै नेता ओलीले भने, ‘चुनावले पनि नेपाली जनताको आकांक्षा अनुसारको सुपरिणाम दिन सकोस् भनेर पनि हामी एकताको बाटोमा आएका हौं।’

आफूहरुले एकताले देशको सार्भभौम सत्ता, स्वाधीनता र अखण्डतालाई माथि उठाउन चाहेको बताउँदै लोकतन्त्र र सामाजिक न्यायका निम्ति लडेका सबै शक्तिहरुलाई एक ठाउँमा ल्याउने पहल सुरु भएको ओलीको भनाइ थियो।

अबको दिनमा देश आर्थिक समृद्धिको बाटोमा हिँड्नु पर्ने भन्दै त्यसका लागि ०७४ सालमा देशभक्त वामपन्थीको सरकार बन्ने दाबी समेत गरे।सहमतिमा हस्ताक्षरपछि पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओलीले भने, ‘अब साधारण बहुमत ठूलो कुरा होइन। हाम्रो ध्यान दुई तिहाईतिर छ।’

उनले एकताबाट नआत्तिन पनि आग्रह गरे। ‘हाम्रो एकता कसैको विरोधमा छैन, नेपाली जनताको आकांक्षा र नेपालको आवश्यकता हो,’ संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने, ‘माओवादी कार्यकर्ताहरुलाई लागेको हुनसक्छ, पार्टीले क्रान्तिकारिता छोड्यो कि जुझारुपन छोड्यो कि, एमालेका कार्यकर्तालाई पनि त्यस्तै लाग्यो होला। तर कसैले केही छोडेको छैन।’

नेपालबाट समाजवादको नयाँ मोडल
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले कम्युनिष्ट पार्टीहरुबीचको एकता र चुनावी तालमेल कांग्रेसविरुद्ध लक्षित नभएको दाबी गरेका छन्। एमाले, माओवादी केन्द्र र नयाँशक्ति नेपालबीच चुनावी तालमेल र एकताको प्रक्रिया घोषणाबारे जानकारी दिन राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले राष्ट्रिय हित र आवश्यकताका लागि एकता प्रक्रिया सुरु भएकाे बताए।

उनले शान्ति प्रक्रियालगत्तै आफ्नो पार्टीले एउटै कम्युनिष्ट पार्टी निर्माण गर्न थालेको पूरा नभए पनि अहिले यो अधुरो काम पूरा हुन लागेको भन्दै खुशी व्यक्त गरे। भने ‘दश बर्ष अगाडि नै यस विषयमा छलफल भएको थियो। कहिलेकाही राजनीतिमा असम्भव भनिएको काम सम्भव हुन्छ र कहिलेकाही सम्भव ठानिएको काम पनि हुँदैन।’

प्रचण्डले एकता ऐतिहासिक आवश्यकता र आकस्मिकताबाट प्राप्त भएको बताए। संक्षिप्त मन्तब्यको क्रममा उनले यस्तो चुनावी तालमेल कम्युनिष्ट र वामपन्थीहरुबीच मात्र नभई लोकतान्त्रिक र परिवर्तनकामी शक्तिहरुबीच गर्न आफूहरु खुल्ला रहेको बताए। ‘हामी विश्वलाई नयाँ चीज दिन चाहन्छौं’ प्रचण्डले भने,’ हामी नेपालबाट समाजवादको नयाँ मोडल शुरुआत गर्न गैरहेका छौं । यो तालमेल त्यसकौको शुरुआत हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *