अन्तर्राष्ट्रिय बजारमा आएको मन्दीका कारण छाला निर्यात रोकियो

विराटनगर । अन्तर्राष्ट्रिय बजारमा आएको मन्दीका कारण सुनसरी मोरङ कोरिडोरका छाला उद्योगहरुमा करिब १२ करोड रुपैंया बराबरको व्हाइट ब्लु गरिएका छाला थन्किएका छन् । विदेश निर्यातका लागि ठिक्क पारिएका करिब १५ हजार थान भैंसी र ३ लाख थान खसी बाख्राका तयारी छालाहरु अन्तर्राष्ट्रिय बजारमा आएको मन्दीका कारण निर्यात रोकिएको हो ।
विगत केही महिना देखि छालाको अन्तर्राष्ट्रिय बजारमा मन्दी आएकाले काँचो छालाको मूल्य निकै घटेको छ । गत वर्ष १ हजार ३ सय रुपैया पुगेको भैसीको छालाको मूल्य घटेर १ हजारको हाराहारीमा पुगेको नेपाल लेदर एसोशियसनका सदस्य हसन अन्सारीले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय बजारमा आएको मन्दीले गर्दा छालाको मूल्य अत्यधिक घटेपछि उद्योगहरुले उत्पादनमा ५० प्रतिशतले कटौती गर्न थालेका छन् । यस्तै अवस्था २०६६ सालमा पनि भएको थियो । त्यति बेला भैसीको छालाको मूल्य घटेर साढे ४ सय रुपैयासम्म पुगेको थियो ।
पूर्वाञ्चल क्षेत्रबाट भारत, चीन, इटाली, क्यानडा, दक्षिण कोरिया र बंगलादेश लगायतका मुलुकहरुमा छाला निर्यात हुने गरेको छ । नेपालबाट रांगा भैसी, खसी बाख्रा, गाई गोरु र भेडाको छाला निर्यात हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *